एनएसलको प्रमुख प्रायोजक एनसेल

काठमाडौँ, २३ फागुन । तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजेमन्टले शुक्रबार प्रमुख प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ ।

नेपाल सुपर लिगकी प्रमुख आश्रेता कार्की चौधरी र एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले सम्झौतापत्रमा हस्ताक्षर गरे । प्रायोजन रकम भने खुलाइएको छैन ।

सन् २०२१ म पहिलो पटक भएको एनएसएललाई नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजेमन्टले अखिल नेपाल फुटबल संघका प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ ।
तेस्रो एनएसएल आगामी मार्च २९ तारिखमा सुरु हुनेछ । एनएसएलका कार्यकारी निर्देशक श्रेयांस कार्कीले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउने र बलियो फुटबल संस्कृति निर्माणमा सहयोग पुर्याउनेछ, भने । यसैगरी एनसेलका चिफ कमर्सियल अफिसर मोहसिनले एनसेल फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्ने धारणा राखे ।

यस प्रतियोगतामा यसपटक गत विजेता ललितपुर सिटी एफसी, पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने छन् । गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।