सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह सम्पन्न, गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुने

कञ्चनपुर,२५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह सम्पन्न भएको छ।

समारोहमा ३७२ जना विद्यार्थी दीक्षित भएका छन्। मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल गरेका विद्यार्थी दीक्षित भएका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताउनुभयाे । उहाँले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय नभएको र अब यहाँ बन्ने बताउनुभयाे ।

उहाँले डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँडै प्रारम्भ हुने र सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको उहाँले जानकारी दिनुभयाे।

दीक्षान्त समारोहमा भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्रा. डा. सतपालसिंह अतिथि रहनुभएकाे थियाे ।