सङ्घीयता कार्यान्वयनमा संसदको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ, २७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयताको सफल कार्यान्वयन, सुशासनको प्रवर्द्धन र विधिको शासनको पालनालाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
सरकारलाई जवाफदेही र नागरिकप्रति उत्तरदायी बनाउन संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति कार्यालयमा आज आयोजित अन्तर व्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र बुझ्ने कार्यक्रममा राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीयता, सुशासन र विधिको शासनलाई सुदृढ पार्न सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसदको भूमिकालाई थप प्रभावकारी बनाउने गहन दायित्व तपाईँहरूको काँधमा छ।”
सार्वजनिक विकास निर्माणका कामहरूमा ढिलासुस्ती भएको र संसदमा नागरिकका सवालहरूमा पर्याप्त छलफल नभएको भन्ने गुनासोहरू आइरहेकोतर्फ सङ्केत गर्दै राष्ट्रपति पौडेलले संसदको नेतृत्वकर्ताको हैसियतले यस्ता समस्या हटाउन र संसदलाई जनताको आवाज बुलन्द गर्ने स्थानको रूपमा विकास गर्न सरकारलाई सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “संसदीय अभ्यासबाट प्राप्त हुने ज्ञानलाई आत्मसात् गर्दै भविष्यमा सक्षम, जवाफदेही र जनताप्रति उत्तरदायी संसद निर्माणका लागि तपाईंहरूबाट थप सक्रियताको अपेक्षा गरेको छु।”
संसदले प्रभावकारी कानून निर्माण, बजेटको व्यवस्थापन, नीतिको निर्धारण र जनताको आवाजलाई सशक्त रूपमा उठाउने स्थानको रूपमा आफूलाई स्थापित गर्नुपर्ने विचार राष्ट्रपतिले व्यक्त गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जानकारी दिएको छ। सङ्घीय संसदले समावेशी, दीर्घकालीन सोचसहितको र विकासलाई प्राथमिकता दिने कानूनी संरचना निर्माण गर्नुपर्ने राष्ट्रपति पौडेलको धारणा थियो।