प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय

एपीएफ, कोशी र लुम्बिनीको जित

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय व्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेश, कोशी प्रदेश र एपिएफले जीत हात पारेका छन ।

दाङको लमहीमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमतीलाई ४८ रनले हरायो । लुम्बिनीको यो तेस्रो जित भएको छ । लुम्बिनीले दिएको सामान्य ११६ रनको लक्ष्य पछ्याउने क्रममा बागमती २२.५ ओभरमा ६७ रनमा अलआउट भएको थियो । कप्तान पृथु बास्कोटाले बनाएको १५ रननै बागमतीको सर्वाधिक स्कोर थियो । लुम्बिनीका बिप्रासन केसी र अजय चौहानले तीन÷तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले दुई÷दुई विकट लिए लिएर बागमतकिो पालि धराशायी बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमै सीमित भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । बागमतीका लागि गौतम केसीले कसिलो ५.४ ओभरमा २१ रन दिएर चार विकेट लिए । सुर्य तामाङ र इशान पाण्डेले दुई÷दुई विकेट लिए ।

रुपन्देहीको भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा भएको कोशीले गण्डकीलाई नौ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । गण्डकीले दिएको सामान्य ३२ रनको लक्ष्य कोशीले ८.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

यसैगरी रुपन्देहीको सिदार्थ  क्रिकेट रङ्गशालामा भएको खेलमा एपिएफले कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै प्रतियोगितमा तेस्रो जित हात पारेको छ ।

कर्णालीले दिएको १९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । एपिएफका दीपक बोहराले ६७ बलमा अविजित ७० रन बनाए । उनी नै म्यान अफ दि म्याच बने । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो । कर्णालीका सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए । सो पालिमा एपिएफका अभिषेक गौतमले १० ओभरमा ३३ रन दिएर चार विकेट लिएका थिए ।