एसइई परीक्षाको सम्पुर्ण तयारी पूरा, देशभर दुई हजार ७९ परीक्षा केन्द्र

भक्तपुर, ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। परीक्षा यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुनेछ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका, सिम्बोल नम्बर लगायत सामग्री सबै जिल्लामा पुगिसकेको जानकारी दिनुभयो।

यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्। गत वर्षको तुलनामा यस वर्ष ४९ हजार दुई सय ८६ जना विद्यार्थी बढेका छन्। गत वर्ष चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए।

परीक्षा सञ्चालनका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ। एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुनेछन्। २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिनेछन्। तर, ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने कार्यालयले जनाएको छ।

यस पटक काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहमा परीक्षा केन्द्र तोकिएको छ। कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट चार जना एचआइभी संक्रमित विद्यार्थीले पनि परीक्षा दिने भएका छन्।

परीक्षा चैत ७ गतेदेखि सुरु भएर १९ गतेसम्म चल्नेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

परीक्षा तालिका अनुसार चैत ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि र चैत १३ गते अनिवार्य सामाजिक विषयको परीक्षा हुनेछ। चैत १४ र १५ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुनेछ।

परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित गरिनेछ। यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। गत वर्षको एसइईमा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *