पोखरामा आगलागीजन्य विपद् उद्धारको नमूना अभ्यास

संयुक्त नमूना अभ्यास

काठमाडौँ, असोज २१ । पोखरामा आगलागीजन्य विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी संयुक्त नमूना अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति, कास्की र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, कास्कीको सहयोगमा बुधबार पोखरा महानगरपालिका ७ स्थित कोमागाने उद्यानमा अभ्यास गरिएको हो ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहभागिता थियो । आगलागी नियन्त्रण, विपद् व्यवस्थापन, घाइतेको उद्धार तथा प्राथमिक उपचारलगायतका विषयमा कृत्रिम अभ्यास गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीजन्य विपद्को उद्धार तथा व्यवस्थापनमा सुरक्षाकर्मीलाई दक्ष र सीपयुक्त बनाउने उद्देश्यले नमूना अभ्यास आयोजना गरिएको हो । अभ्यासका क्रममा खाना पकाउन प्रयोग हुने एलपी ग्यासबाट हुने आगलागी नियन्त्रणका उपायबारे होटल तथा रेष्टुराँका कर्मचारी र सर्वसाधारणलाई समेत जानकारी गराइएको थियो ।

अभ्यासमा आगलागी नियन्त्रणका लागि विभिन्न यन्त्र तथा उपकरणको प्रयोग, जनशक्ति परिचालन, आगो नियन्त्रण, घाइतेको उद्धार तथा प्राथमिक उपचारका प्रक्रियाको प्रदर्शन गरिएको थियो । सुरक्षाकर्मीले आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुँदै आएका नयाँ प्रविधि र सीपसमेत प्रदर्शन गरेका थिए ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले यस्ता अभ्यासले आगलागीका घटना न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि पूर्वतयारी बढाउनुका साथै सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्ने बताउनुभयो ।

उहाँले पोखरा पर्यटकीय राजधानीसमेत भएकाले सहरलाई सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्दै पोखरा सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । विपद्सम्बन्धी सम्भावित घटनाको उद्धार तथा व्यवस्थापनको कृत्रिम अभ्यासले आमनागरिकमा विपद् जोखिमबारे सचेतना बढाउने उहाँको विश्वास थियो ।

जिल्ला सुरक्षा समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बद्ध सरकारी निकाय तथा सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा कृत्रिम अभ्यास सञ्चालन गर्दै आएको जनाएको छ ।

यसै अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराले जिल्ला विपद् व्यवस्थापन समितिलाई ११ थान आगो निभाउने यन्त्र (फायर एक्स्टिङ्गुइसर) र ११ थान फायर ब्ल्याङ्केट हस्तान्तरण गरेको थियो ।

रेवान पोखराका अध्यक्ष वसन्त गौतमले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारी निकाय, निजी क्षेत्र र समुदायलगायत समाजका सबै पक्षको एकताबद्ध पहल आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *