बाँदर आतङ्कले भोजपुरका बस्ती खण्डहर, स्थानीय बसाइँसराइ गर्न बाध्य
भोजपुर, ४ चैत । बाँदरको समस्याले भोजपुरको मानेभञ्याङ क्षेत्रका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन्, जसका कारण धेरै बस्ती खण्डहरमा परिणत भएका छन्।
रामप्रसादराई गाउँपालिका–५ मा पर्ने यो क्षेत्रबाट डेढ दशकमा करिब १५० परिवार बसाइँसराइ गरेपछि गाउँ उजाडिएको हो।
स्थानीय भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीका अनुसार, बाँदर र पानीको अभावले अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे, राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खाली भएका छन्। साबिकका वडा नं. ८ र ९ मा पर्ने यी क्षेत्रबाट ९८ प्रतिशत मानिसले गाउँ छाडिसकेका छन्।
पराजुलीले दिएको जानकारी अनुसार, अर्चलेमा ३५ घरमध्ये २, भोर्लेनीमा ३३ मध्ये ३, दमाईछाँपमा ८० मध्ये ४० र थाक्लेमा २५ घरमध्ये २ घर मात्र बाँकी छन्। गुराँसे र राणागाउँमा ६५ घर रहेकामा ३५ र मोहोरियामा ८० घरपरिवार रहेकामा अहिले ३५ घरपरिवार मात्र बसोबास गर्छन्।
शिक्षक पराजुलीले भने, “बाँदर र पिउने पानीको समस्याले मानिसहरू अन्यत्र गइरहेका छन्। बाक्लो बस्ती भएका गाउँहरू खण्डहर बनेका छन्।” उनले पहिले आफ्नो विद्यालयमा ३०० विद्यार्थी भए पनि अहिले ५० जना मात्र रहेको बताए। गाउँमा सडक, बिजुली पुगे पनि मानिसहरू बसाइँ सर्दा समस्या भएको उनको भनाइ छ। “तल्लो भेगका मानिसले बस्ती छाड्दा माथिल्लो भेगमा बाँदरले दुःख दिन थालेको छ। यस्तै अवस्था रहे गाउँ नै खाली हुने खतरा छ। राज्यले किसानको यो समस्यालाई सम्बोधन गर्नुपर्छ,” उनले थपे।
अर्चलेका जगतकुमार तामाङ पनि बाँदरको समस्याले किसान हैरान भएको बताउँछन्। उनी अहिले खाली भएको बस्तीको एउटा घरमा ठेक्कामा बस्छन्। उनले भने, “यहाँका धेरै घर बिक्री नगरी छाडिएकाले भत्किन थालेका छन्। उर्वरभूमि बाँझिएको छ।”
सबैले छाडेको गाउँमा जीवन निर्वाह गर्न गाह्रो भएको तामाङको अनुभव छ। बस्ती खाली भएकाले बाँदरले झनै दुःख दिने गरेको र विद्युत् विस्तारमा पनि समस्या भएको उनको भनाइ छ।