भक्तपुरमा मौलिक वेशभूषासहित सांस्कृतिक भिन्तुना र्याली
भक्तपुर, २३ कात्तिक । नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा भक्तपुरमा आज मौलिक वेशभूषा र बाजागाजासहित सांस्कृतिक भिन्तुना र्याली आयोजना गरिएको छ।
नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा सूर्यमढी र टौमढीबाट सुरु भएको र्यालीले भक्तपुर नगरका विभिन्न टोल तथा बजारको परिक्रमा गरेको थियो। र्याली दरबार स्क्वायरमा पुगेर सभामा परिणत भएको थियो।
नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्यालीमा विभिन्न सांस्कृतिक झाँकी, परम्परागत गीत, संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। र्यालीले भक्तपुरको मौलिक सांस्कृतिक वैभव झल्काएको थियो।
र्यालीपछि खौमास्थित जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरिएको थियो।
सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भाषा, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। उहाँले नेपाल संवत्को नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र मौलिक पहिचानसँग जोडेर मनाउनुपर्नेमा जोड दिनुभयो।
