नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत ७ गतेदेखि काठमाडौंमा सुरु हुने

काठमाडौं, ६ चैत । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र प्रदर्शनका लागि छनोट भएका छन्। महोत्सवका अध्यक्ष केपी पाठकले यस बारेमा जानकारी दिए।
“विश्वभरिका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” भन्ने नाराका साथ आयोजना हुने आठौं संस्करणमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रिया लगायतका कार्यक्रमहरू पनि समावेश हुने कुरा अध्यक्ष पाठकले बताए।
“यस अगाडिका संस्करणहरू भन्दा यसलाई भव्य बनाउने गरी तयारी गरिएको छ। चलचित्र प्रेमी दर्शकहरूलाई आकर्षित गर्ने किसिमले चलचित्रहरू छनोट गरिएका छन्। यो विश्वभरका चलचित्रकर्मीहरूका लागि भेटघाट, छलफल र चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेछ भन्ने विश्वास लिएका छौं,” उनले भने।
महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को आयोजना गरिने छ, जसमा तीनवटा रसियन चलचित्र प्रदर्शन गरिनेछन्। महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरिएको छ। दुवै विधामा फिचर, लघु चलचित्रका साथै वृत्तचित्रहरूलाई पनि अवार्ड प्रदान गरिनेछ। नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, सिद्धार्थ पुडासैनीको ‘सानो संसार’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन्।
नेपाली वृत्तचित्रको प्रतिस्पर्धामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेका छन्। यस संस्करणदेखि एआई प्रविधिबाट बनेका वा सो सम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको छ।
‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेका छन्।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट चलचित्रलाई एक हजार पाँच सय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ। त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ।
नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रलाई रू एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०/५० हजार र ट्रफी प्रदान गरिनेछ। महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ। एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ।