सुकुना माविका ८ जुम्ल्याहा विद्यार्थी एसईई परीक्षामा सहभागी

मोरङ, ८ चैत । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयबाट ८ जना जुम्ल्याहा विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षा दिइरहेका छन्।

कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी भएको यो विद्यालयमा एकैसाथ ८ जना जुम्ल्याहा विद्यार्थीले परीक्षा दिनु विशेष भएकाे सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिनुभयो।

विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत कुल ६२६ जना विद्यार्थी परीक्षामा सहभागी छन्, जुन संख्या कोशी प्रदेशमै सर्वाधिक रहेको विद्यालयको दाबी छ। वि.सं. २०२९ सालमा स्थापना भएको यस विद्यालयमा २०३९ सालदेखि एसएलसी परीक्षा दिन सुरु गरिएको थियो।

कोशी प्रदेशकै नमुना विद्यालयको रूपमा परिचित यस विद्यालयमा +२ सहित हाल ४ हजार ५०० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले बताउनुभयो।