नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा

काठमाडौं, ११ चैत । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जनालाई कारबाही गरिएको छ। देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै यो कदम चालेको हो।

आइतबार नयाँ बसपार्कमा आयोजित एक कार्यक्रममा महासंघले यात्रुलाई अनावश्यक दुःख दिने व्यक्तिहरुलाई कारबाही गरिएको जानकारी दिएको हो । सुरक्षित बसपार्क निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन प्रहरी, यातायात व्यवसायी र मजदुर सबैको उत्तिकै भूमिका रहने बताए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तान्ने र अनावश्यक दुःख दिने कार्य रोक्नुपर्ने कुरामा जोड दिए।

महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निरन्तर काम गरिरहेको बताए। नयाँ बसपार्क प्रहरी प्रभागका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये ८ जनालाई मुद्दा चलाइएको जानकारी दिए।

नयाँ बसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन भइरहेको छ। लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकोले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबै यात्रुहरुलाई आग्रह गरेका छन् ।