महोत्तरीमा बीभत्स हत्या: मृतककै श्रीमती पक्राउ

महोत्तरी, ११ चैत । महोत्तरीमा एक पुरुषको विभत्स हत्या भएको घटनामा मृतककै श्रीमती पक्राउ परेकी छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकी श्रीमती सिर्जना महतोलाई प्रहरीले पक्राउ गरेको हाे।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारका अनुसार सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

गत शुक्रबार साँझ साढे ५ बजे गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रेलवे ट्र्याकभन्दा १०० मिटर पर शिवशंकरको शव फेला परेको थियो।
प्रहरीका अनुसार उनको टाउकोमा खुकुरी प्रहार गरिएको थियो र अनुहार जलाइएको अवस्थामा फेला परेको थियो। पहिचान गर्न नसकियोस् भनेर हत्याराले उनको अनुहार जलाएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जनासँगै ससुराली जाँदै थिए। सोही क्रममा घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको आशंका गरिएको र संलग्न व्यक्तिहरूको पहिचान भइसकेकोले खोजी कार्य जारी रहेको जनाएकाे छ ।