मुस्ताङमा दुर्लभ हिउँ चितुवाको निगरानी सुरु

मुस्ताङ,१२ चैत । उपल्लो मुस्ताङमा दुर्लभ हिउँ चितुवाको अनुगमन थालिएको छ। क्यामेरा ट्र्यापिङको माध्यमबाट तीनवटा मुख्य स्थानमा हिउँ चितुवाको गतिविधि निगरानी गर्न थालिएको हो। मानव र हिउँ चितुवाबीच द्वन्द्व बढ्न थालेपछि यो कदम चालिएको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख उमेश पौडेलका अनुसार वारागुङ मुक्तिक्षेत्र-३ समर आसपास १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडामा दुई वटा र लोमान्थाङ बजार माथिको क्षेत्रमा एउटा क्यामेरा जडान गरिएको छ।

“हिउँ चितुवाको अवस्था पत्ता लगाउन र कुन क्षेत्रमा कति संख्यामा छन् भन्ने यकिन गर्न यो अनुगमन थालिएको हो,” पौडेलले भने। स्थानीयले हिउँ चितुवाले बर्सेनि पशुधनमा क्षति पुर्‍याएको गुनासो गरेपछि चितुवा संरक्षण गर्दै स्थानीयको क्षति कम गर्न क्यामेरा ट्र्यापिङ थालिएको हो।
एक्याप लोमान्थाङका प्रमुख पौडेलले हिउँ चितुवा र अन्य वन्यजन्तुको संरक्षण गर्ने दायित्व एक्यापको भएको बताए।

मानव र पशुधनको रक्षाका लागि अध्ययन सुरु गरिएको उनको भनाइ छ। हिउँ चितुवा यहाँको धार्मिक, सांस्कृतिक र जैविक सम्पत्ति भएको र स्थानीयको पशुपालन व्यवसायलाई सँगै अघि बढाउन दिगो व्यवस्थापनका कार्यक्रम ल्याउनुपर्ने उनले बताए।

यसअघि एक्यापले घरपझोङ गाउँपालिका र वारागुङ क्षेत्रका विभिन्न स्थानमा ३१ वटा क्यामेरा जडान गरी हिउँ चितुवाको अनुगमन गरेको थियो। विज्ञहरूले मुस्ताङमा हिउँ चितुवाको गतिविधि, जलवायु परिवर्तनले पारेको प्रभाव र आहाराको विश्लेषण गर्ने जनाइएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँस अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर बस्ती नजिक आउन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *