संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, कार्यसूची हेर्नुहाेस

काठमाडौं, १५ चैत्र । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभाको बैठक र मध्याह्न १२ बजे राष्ट्रिय सभाको बैठक बस्ने कार्यसूची रहेको छ।

हिजो, विपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक स्थगित भएको थियो। विपक्षी दलहरूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै संसद बैठकमा विरोध जनाएका थिए।

आजको प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची छ।

बैठकमा ‘बैंकिङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ। प्रधानमन्त्री के.पी. शर्मा ओलीले लोक सेवा आयोगको पैँसट्ठीऔं वार्षिक प्रतिवेदन (२०८० श्रावण– २०८१ आषाढ) पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ।