प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सरकारको यो प्रतिबद्धता केवल भनाइमा मात्र सीमित नभई व्यवहारबाटै पुष्टि भएको पनि बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले प्रेस जगत् समाजको अभिन्न अङ्ग भएको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासका मुद्दामा सकारात्मक र जिम्मेवार भूमिका खेल्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका लागि सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताका अभियानहरूलाई आमजनतासम्म पुर्‍याउन रेडियो नेपालले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले आफ्नो सन्देशमा भन्नुभएको छ, “नेपालको राजनीतिक जागरण ल्याउन रेडियो नेपालले खेलेको भूमिका अविस्मरणीय छ । अब रेडियो नेपालले देश विकासका लागि नागरिकलाई रचनात्मक ढंगले सुसूचित गर्नुपर्छ । हाम्रा सूचना र सन्देशहरू रोजगारी सिर्जना, नवीन प्रविधिको प्रयोगबाट विकासलाई गति दिने र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित हुनु आवश्यक छ ।”