चट्याङ लागेर सङ्खुवासभामा चार जना घाइते

सङ्खुवासभा, २ वैशाख । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएकाे हाे । उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताउनुभयो । उपचाररत चारैजना खतरामुक्त रहेकाे अस्पतालले जनाएको छ ।