त्रिवि उपकुलपतिको कार्यभार शिक्षाध्यक्ष प्रा.डा. केसीलाई

काठमाडौं, २ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रिक्त उपकुलपति पदको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिइएको छ ।

विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि डा. केसीलाई उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।

यसअघिका उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

पर्वत जिल्ला, मोदी गाउँपालिका-५ निवासी प्रा.डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका क्षेत्रमा विज्ञ मानिनुहुन्छ । त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उहाँले पहिले गर्नुभएको कामलाई निकै प्रभावकारी मानिएको थियो ।