सिरहामा यौन दुर्व्यवहार पीडित महिलाको शंकास्पद मृत्यु, गृहमन्त्रीद्वारा छानबिन गर्न निर्देशन

सिरहा, ३ वैशाख । गृहमन्त्री रमेश लेखकले सिरहामा करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी एक महिलाको शंकास्पद मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ।

सिरहाको नवराजपुर गाउँपालिका-३, जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार आफ्नै माइतीघरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। गृहमन्त्री लेखकले यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाको निष्पक्ष र गहन छानबिन गर्न निर्देशन दिनुभएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माका अनुसार, मृतक आनन्दीदेवी गत पुस ९ गते स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारमा परेकी थिइन्। पीडितको उजुरीपछि गत फागुन २५ गते आरोपितहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको थियो।

एसपी शर्माले घटनालगत्तै आरोपितहरू फरार रहेको र उनीहरूलाई पक्राउ गर्न नसकिएको बताउनुभयो। “आरोपितहरू नेपाल छाडेर भारतमा लुकेको हुन सक्ने आशंका छ, जसले गर्दा खोजीकार्यमा चुनौती थपिएको छ, यद्यपि प्रहरी निरन्तर लागिरहेको छ,” उहाँले भन्नुभयो, “यौन दुर्व्यवहारलगत्तै पीडितको मेडिकल जाँच गराउने र अदालतबाट पक्राउ पुर्जी जारी गराउने प्रक्रिया पूरा गरिएको थियो।”

एसपी शर्माले आफू घटनास्थल पुगी पीडित परिवारलाई भेटेको र घटनाबारे थप जानकारी लिएको बताउनुभयो। “मृतक आनन्दीदेवीको दुई वर्षकी छोरी छिन्। उनी केही समयदेखि माइतीमा बस्दै आएकी थिइन्। माइतीघरमा कोही नभएको बेला उनी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्,” शर्माले जानकारी दिनुभयो।

मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको शंकास्पद प्रकृतिलाई ध्यानमा राख्दै विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।