यी चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा, यस्ताे छ माैसमविद्काे तालिका

काठमाडाैं, ६ वैशाख । आज बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागहरूमा वर्षा भइरहेको छ।

देभभर स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव र भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशका केही भू भागमा पानी परिरहेकाे हाे ।

काठमाडौंलगाएतका केही जिल्लाहरूमा बिहानैदेखि पनि वर्षा भइरहेको छ। मौसमविद बिनु महर्जनका अनुसार शनिबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश लगायत पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको उनले बताइन्।

त्यस्तै उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। ‘आजको लागि मौसम खुल्ने देखिँदैन। लुम्बिनी र कर्णालीतिर रहेको पानी पार्ने प्रणाली काठमाडौंतिर मुभ भएको देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्।

शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।