शिक्षामन्त्री बन्ने हल्लामा सत्यता छैन, भ्रामक प्रचारको पछि नलाग्न राष्ट्रियसभा सदस्य डा. शाक्यको आग्रह

काठमाडौं, ९ वैशाख । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले आफू शिक्षामन्त्री बन्न लागेको भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गर्नुभएकाे छ ।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि डा. शाक्यलाई सम्भावित मन्त्रीका रूपमा प्रस्तुत गरिएका समाचारहरू सार्वजनिक भएपछि उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा स्पष्ट पार्नुभएकाे हाे ।

डा. शाक्यले लेख्नुभएकाे छ, “म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डा. अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोकल्पित समाचार प्रकाशन भएको जानकारी पाएँ । यो विषयमा मेरो प्रतिक्रिया आवश्यक नहुन सक्थ्यो, तर मेरा शुभचिन्तक, सरोकार राख्ने व्यक्तिहरू र आफन्तहरूमा भ्रम सिर्जना हुन नदिन यो स्पष्टीकरण आवश्यक ठानेको छु ।”

उहाँले हालै अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै निर्वाचित भएको स्मरण गराउँदै भन्नुभएकाे छ, “यस निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उँचो बनाउन मद्दत पुगेको विश्वास लिएको छु । मेरो पहिलो प्राथमिकता र कर्तव्य उक्त संस्थामा गरिएका प्रतिबद्धताहरू पूरा गरी नेपालको छविलाई विश्वमाझ थप सुदृढ पार्नु हो ।”

राष्ट्रिय सभाको विज्ञ सदस्यका रूपमा हाल कानुन निर्माण प्रक्रियामा सक्रिय रहनु आफ्नो दायित्व भएको बताउँदै उहाँले तत्काल मन्त्री पदमा गएर यी महत्वपूर्ण जिम्मेवारीबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । “आइपीयुमा विश्वास गरेर निर्वाचित गराइएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायलाई धोका दिनु हुँदैन भन्नेमा म दृढ छु,” उहाँले थप्नुभयाे, “पूर्वराजदूतको अनुभव र आफ्नो कर्तव्यनिष्ठाका कारण अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको व्यक्ति हुँ भन्ने पनि स्मरण गराउन चाहन्छु ।”

डा. शाक्यले आफूविरुद्ध कसैले पूर्वाग्रह राखेर शिक्षा क्षेत्रका वर्तमान समस्याहरूसँग जोड्न खोजेको हुन सक्ने आशंका व्यक्त गर्नुभएकाे छ ।

उहाँले सञ्चारमाध्यमहरूलाई आग्रह गर्दै भन्नुभएकाे छ, “मेरा विरुद्ध भएका यस्ता मिथ्या प्रचारबाजीलाई आधार मानेर पूर्वाग्रही र कपोलकल्पित समाचार प्रकाशन नगरिदिनुहुन अनुरोध गर्दछु ।”