निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ : सभापति देउवा
काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र विकासमा ठूलो टेवा पुर्याएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
“स्वदेशमा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्न उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नुपर्छ । स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ,” सभापति देउवाले भन्नुभयो । उहाँले डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको औंल्याउँदै आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्ने र यसबाट सूचना प्रविधिको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण निरन्तर अगाडि बढ्ने विश्वास दिलाउँदै तर यसका लागि सरकारले मन जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण राज्यले तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्र सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विदेशी नागरिकलाई ‘अपार्टमेन्ट’ बिक्री गर्न दिँदा फाइदा हुने र यसबाट पर्यापर्यटनको विकासमा पनि सहयोग पुग्ने धारणा राख्नुभयो ।