बाहुनडाँगीमा जङ्गली हात्तीको त्रास, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च
काठमाडौँ, कार्तिक २७ । मेचीनगर नगरपालिका ४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्ती नेपालतर्फ प्रवेश गर्न थालेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । हात्तीको प्रवेश रोक्न र स्थानीयवासीको घर तथा बालीनालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयवासी परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भारतसँग सीमा जोडिएको उक्त क्षेत्रबाट जङ्गली हात्ती नेपाल प्रवेश गरी स्थानीयवासीका घर भत्काउने र पाकेको धान खाने घटना हुन थालेपछि बुधबारदेखि सुरक्षा निगरानी तीव्र पारिएको हो । हात्तीलाई नेपालतर्फ प्रवेश गर्न नदिई भारततर्फ नै फर्काउने उद्देश्यले विभिन्न सुरक्षा संयन्त्र परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
हात्ती नियन्त्रण तथा रोकथामका लागि सशस्त्र प्रहरी बल नेपाल, बाहुनडाँगीस्थित सीमा सुरक्षा गुल्म (बीओपी), नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसान सक्रिय भएका छन् ।
हात्तीको गतिविधि निगरानी गर्न र नेपाल प्रवेश रोक्न विभिन्न उपकरण तथा सवारीसाधन प्रयोग गरिएको छ । त्यसक्रममा १० भन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरी बलका दुई ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरीका एक-एक साइरन जडित सवारीसाधन तथा नेपाल प्रहरीको एउटा ठूलो साइरन परिचालन गरिएको छ ।
त्यसैगरी, रातिको समयमा निगरानी र हात्ती धपाउने कार्यलाई प्रभावकारी बनाउन ९० भन्दा बढी ठूला लाइट प्रयोगमा ल्याइएको छ । गस्ती तथा निगरानीका लागि तीनवटा ट्र्याक्टर र १० भन्दा बढी मोटरसाइकलसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
जङ्गली हात्तीको आवागमनबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । हात्तीको गतिविधिबारे जानकारी पाएमा तत्काल सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई खबर गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।
