म्यान्चेस्टर युनाइटेड र टोटनहाम युरोपा लिग फाइनल नजिक
लन्डन, १९ वैशाख । युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा म्यान्चेस्टर युनाइटेड र टोटनहामले शुक्रबार जित हात पारेका छन् । म्यान्चेस्टर युनाइटेडले दस खेलाडीमा सीमित बनेको स्पेनको एथ्लेटिको बिल्बाओलाई ३–० र टोटनहामले नर्वेको बोडो÷ग्लिम्टलाई ३–१ ले हराए ।
घरेलु लिगमा यसपटक कमजोर प्रदर्शन गरेको यी दुवै टिम अब युरोपा लिग जितेर आफ्नो प्रतिष्ठा जोगाउने अभियानमा छन् । युरोपा लिग जित्ने टिमले च्याम्पियन्स लिगमा पनि स्थान पाउनेछ ।
म्यान्चेस्टर युनाइटेडका लागि खेलको ३० औँ मिनेटमा कासिमेरोले गोलको खाता खोले । उनले ह्यारी म्यागुएरको क्रसमा गोल गरेका हुन् ।सात मिनेटपछ नै ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गरी म्यान्चेस्टर युनाइटेडको अग्रता दोब्बर पारे । स्ट्राइक रास्मस होलुन्डलाई डानी भिभियनले लडाएपछि म्यान्चेस्टर युनाइटेडले पेनाल्टी पाएको हो । सो घटनामा भिभियनले रातो कार्ड पनि पाए । खेलको ४५ औँ मिनेटमा फर्नान्डेजले नै व्यक्तिगत दोस्रो गोल गरेर म्यान्चेस्टर युनाइटेडको जित पक्का गरे ।
यसैगरी टोटनहामका लागि ब्रेनन जोन्सन, जेम्स म्याडिसन र डोमिनिक सोलान्केले गोल गरे । सोलान्केले पेनाल्टीमा गोल गरेका हुन् । नर्वेली टिमका लागि उल्रिक साल्टनेसले एक गोल फर्काए ।
एपी