सामाजिक दायित्वबाट मुक्ति दिने मुस्ताङको ‘थच्याङ’ संस्कृति

मुस्ताङ,२३ वैशाख । हिमाली जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-३, ताङ्वेका गुरुङ समुदायमा ‘थच्याङ’ नामक एक अनौठो र मौलिक संस्कृति प्रचलित छ।

यो कुनै चाडपर्व नभएर, ५७ वर्ष उमेर पूरा भएपछि व्यक्तिले सामाजिक बन्धन र अनिवार्य जिम्मेवारीहरूबाट स्वेच्छिक रूपमा मुक्ति पाएको जनाउ दिने एक महत्त्वपूर्ण संस्कार हो। ‘थच्याङ’ शब्दले नै ‘सामाजिक बन्धनबाट मुक्त हुनु’ भन्ने अर्थ बोकेको छ र यो ताङ्वे गुरुङ समुदायमा पुस्तौंदेखि चल्दै आएको विश्वास गरिन्छ।

मुस्ताङका कतिपय क्षेत्रमा अझै पनि मुखिया प्रथा सक्रिय छ, जहाँ गाउँका सामाजिक कार्यहरू मुखियाको नेतृत्वमा सम्पन्न हुन्छन्। गाउँलेहरूले आलोपालो रूपमा बैठक, भेला, खेतीपातीका काम, र गाउँमा सूचना पुर्‍याउने ‘कटुवाल’ (छो) को भूमिका निभाउनुपर्ने हुन्छ। समाजले तोकेका यी जिम्मेवारीहरू पूरा नगर्दा वा अनुपस्थित रहँदा जरिवानासमेत तिर्नुपर्ने प्रावधान छ।

ताङ्वे समाजकी अगुवा संगीता ताङ्वे गुरुङका अनुसार, यही अनिवार्य सामाजिक दायित्वबाट छुटकारा पाउन ५७ वर्ष उमेर पुगेका सदस्यहरूले ‘थच्याङ’ गर्ने गर्छन्। “५७ वर्ष नपुगी थच्याङ गर्न पाइँदैन, तर यो सबैका लागि अनिवार्य भने छैन,” संगीता भन्नुहुन्छ, “थच्याङ गरेपछि व्यक्ति समाजले तोकेको कामबाट मुक्त हुन्छ, यद्यपि स्वेच्छाले सामाजिक कार्यमा सहभागी हुन रोक लाग्दैन।” आर्थिक रूपमा सक्षम व्यक्तिहरूले यो संस्कार गर्ने गर्छन् भने नसक्नेलाई अनिवार्य छैन। कतिपय अवस्थामा, पहिले विवाह धुमधामसँग गर्न नपाएकाहरूले जीवनको उत्तरार्धमा यसलाई उत्सवका रूपमा मनाउने चलन पनि रहेको उहाँ बताउनुहुन्छ।

यो संस्कृति ताङ्वेमा मात्र सीमित नभई बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका १९ वटै गाउँका गुरुङ समुदायमा स्वेच्छिक रूपमा प्रचलनमा रहेको पाइन्छ। थच्याङ संस्कार दुई दिनसम्म चल्छ। यस अवधिमा कुलदेवताको पूजा गर्ने र हिमाली देवतादेखि लिएर सम्पूर्ण सांसारिक जगत, जीवजन्तु र वनस्पतिसँग बिदा माग्दै परम्परागत गीत गाउने गरिन्छ।

संस्कारको सुरुवातमा, गाउँ समाजले थच्याङ गर्ने व्यक्ति र परिवारलाई ठेकीमा स्थानीय पेय ‘छ्याङ’ र खादा अर्पण गर्दै पहिलो आशीर्वाद दिन्छ। त्यसपछि आफन्त, इष्टमित्र र अन्य समुदायका सदस्यहरूले खादा लगाइदिएर शुभकामना व्यक्त गर्छन्। आशीर्वाद दिँदा पुरुषलाई ९९ वर्ष र महिलालाई ८९ वर्षको दीर्घायुको कामना गरिन्छ। (यो समुदायमा विवाह गर्दा सामान्यतया महिला पुरुषभन्दा १० वर्ष कम उमेरको हुनुपर्ने सांस्कृतिक मान्यता रहेको पनि संगीताले उल्लेख गर्नुभयो) ।

थच्याङको दोस्रो तथा अन्तिम दिन, सामाजिक जिम्मेवारीबाट मुक्त भएको सन्देश दिन ५७ वर्ष पुगेका व्यक्ति र उहाँको परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ। यो यस संस्कृतिको मुख्य विशेषता हो।

स्थानीय देवसिंह ताङ्वेका अनुसार, थच्याङ संस्कारले देश तथा विदेशमा छरिएर रहेका समुदायका सदस्यहरूलाई एकै ठाउँमा भेला गराउने अवसर प्रदान गर्छ, जसले आपसी सम्बन्धलाई थप बलियो बनाउँछ। यस अवसरमा महिला तथा पुरुषहरू आफ्नो मौलिक भेषभूषा र गरगहनामा सजिएर नाचगान गर्दै उत्सव मनाउँछन्। हालै सोमबार जोमसोममा पनि थच्याङ संस्कृतिको परम्परा झल्किने गरी एक परिक्रमा कार्यक्रम आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले कुलदेवतालाई सम्झँदै जीवनका कर्मबाट मुक्तिको कामनासहित परम्परागत गीत गाएका थिए।