नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नवलपरासी, २३ वैशाख । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ ।
चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले बाटाे चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिनुभयो । बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।
राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।