खराब मौसमले लुक्लाकाे उडान ठप्प, एक सातादेखि यात्रुलाई सास्ती
काठमाडौँ, २३ वैशाख । सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थल, लुक्लाका लागि आइतबार बिहानैदेखि निर्धारित सम्पूर्ण हवाई उडानहरू प्रतिकूल मौसमका कारण रद्द भएका छन्। मौसममा आएको खराबीले विगत एक सातादेखि नै लुक्लाको हवाई सेवा अनियमित बन्दै आएकोमा आज पूर्ण रूपमा ठप्प भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएअनुसार, काठमाडौंबाट लुक्लाका लागि आज बिहानैदेखि कुनै पनि उडान हुन सकेको छैन। बिहान ६ बजेदेखि नै समिट, सीता र तारा एयरका उडान तालिका रहे पनि मौसमकै कारण ती सम्भव भएनन्। त्यसपछिका बुद्ध, यति र श्री एयरलाइन्स लगायतका अन्य निर्धारित उडानहरू पनि अनिश्चित बनेका छन्।
उता, लुक्ला विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अमन चन्द्र झाले पनि त्यहाँ मौसम अत्यन्त खराब रहेको र आइतबार दिनभर उडान सञ्चालन हुने सम्भावना निकै कम रहेको बताउनुभयो। “बिहानैदेखि यहाँ मौसम राम्रो छैन। आज एउटा पनि उडान हुन सकेको छैन।
दिनभरि नै हुने सम्भावना देखिँदैन,” झाले भन्नुभयो। उहाँका अनुसार मौसमकै कारण लुक्लाको हवाई सेवा पछिल्लो एक सातादेखि नै नियमित तालिकाअनुसार सञ्चालन हुन सकेको छैन।
लुक्लाका लागि उडानहरू ठप्प हुँदा काठमाडौँ र सोलुखुम्बुबीच आवतजावत गर्ने यात्रुहरू, विशेषगरी सगरमाथा क्षेत्र जाने पर्यटकहरू र स्थानीय बासिन्दाहरू प्रत्यक्ष मारमा परेका छन्।