पाकिस्तानविरुद्ध भारतको हमला, माओवादी नेताहरूकाे फरक मत

काठमाडौं । भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको भनिएको ‘अप्रेशन सिन्दूर’ को विषयलाई लिएर नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माबीच फरक धारणा सार्वजनिक भएको छ।

उपमहासचिव शर्माले भारतको उक्त कदमको समर्थन गरेका छन् भने महासचिव गुरुङले आक्रमणको औचित्यमाथि प्रश्न उठाएका छन्।

उपमहासचिव शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भारतले आतंकवादविरुद्ध ‘अप्रेशन सिन्दूर’ सञ्चालन गरेकोमा समर्थन जनाएका छन्। उनले भनेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ।’

महासचिव गुरुङले भने काश्मीरको पहलगाममा भएको आक्रमण कसले गराएको हो भन्ने स्वतन्त्र पुष्टि नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने तर्क गरेका छन्। उनले पनि फेसबुकमै लेखेका छन्, ‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ। यो अत्यन्तै दु:खद विषय हो। …निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधि को विरोध गर्नैपर्छ। तर, उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन।’

महासचिव गुरुङले सैन्य कारबाही बन्द गरी दुवै मुलुकबीच संवाद हुनुपर्ने र पहलगाम हत्याकाण्डबारे स्वतन्त्र अन्तर्राष्ट्रिय आयोग गठन गरी छानबिन गरिनुपर्ने बताएका छन् । उनले भारत र पाकिस्तान दुवै नेपालका छिमेकी मित्रराष्ट्र भएकाले र छिमेकीबीचको द्वन्द्वले नेपाललाई असर पार्ने हुँदा संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा नेपाल मौन बस्न नमिल्ने र शान्तिको पक्ष लिनुपर्नेमा जोड दिएका छन्।