बुद्धका शिक्षा, उपदेश र दर्शन वर्तमान विश्वका लागि झनै सान्दर्भिक : प्रधानमन्त्री ओली
लुम्बिनी, २९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि लुम्बिनी विश्व शान्तिको उद्गमस्थल भएको बताउँदै यस पवित्र भूमिको विकास र बुद्धका शाश्वत उपदेशहरूको प्रवर्द्धनमा सरकारले विशेष जोड दिएको बताउनुभएको छ।
२६४९ औं बुद्धजयन्ती, २५६९ औं बुद्धसम्वत तथा लुम्बिनी दिवस २०८२ को अवसरमा आज लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै अग्रसरतामा निर्माण भएको सम्मेलन हलको स्मरण गर्नुभयो। उहाँले आगामी २६५० औं बुद्धजयन्ती अझ भव्य र व्यवस्थित रूपमा, सुधारिएको ध्वनि प्रणाली र अनुवाद सुविधासहित अन्तर्राष्ट्रियस्तरमा मनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा, उपदेश र दर्शन वर्तमान विश्वका लागि झनै सान्दर्भिक र आवश्यक रहेको जोड दिँदै भिक्षु आनन्द, सम्राट अशोक, उ थान्त लगायतका व्यक्तित्वहरूको योगदानको स्मरण गर्नुभयो।
उहाँले लुम्बिनी गुरुयोजनालाई शीघ्र सम्पन्न गर्ने र लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत बुद्ध दर्शनको अध्ययन-अनुसन्धानलाई बढावा दिने सरकारको लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो।