सरकारी कारोबारमा बढ्दो बेरुजु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौँ, ३१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था रहेको बताउनुभएको छ । महालेखा परीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उहाँसमक्ष पेस गर्नुभएपछि राष्ट्रपति पौडेलले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो । सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु ।”

विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानुनको परिपालना एवं आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता छ ।”

उहाँले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, महालेखा परीक्षकबाट सरकारी वा सार्वजनिक स्रोतसाधन तथा सम्पत्तिको सदुपयोग भए नभएको, अनियमितता वा हानिनोक्सानी भए नभएको समेतको विषय परीक्षण हुँदै आएको सन्दर्भमा यस प्रतिवेदनमा औँल्याइएका विषयहरूले सम्बन्धित निकायलाई आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्वप्रति थप सजग गराउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।