बैंकिङ प्रणालीबाट आज १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं, १२ कात्तिक । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । सोही क्रममा आज पुनः १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलबाट निक्षेपको ब्याजदर निर्धारण गरिनेछ ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार आठ दिनका लागि संकलन गरिने निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक २० गते भुक्तानी गरिनेछ ।
