प्रतिनिधिसभा बैठकमा जनजीविका र पूर्वाधारका सवाल

काठमाडौँ, ६ जेठ। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको प्रारम्भमा, आकस्मिक समयमा बोल्दै सांसदहरुले नागरिकका जनजीविका, पूर्वाधार निर्माण, उपभोक्ता बजारका समस्या र प्राकृतिक विपत्ति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद रमा कोइराला पौड्यालले बजारमा विभिन्न कम्पनीका ग्यास सिलिन्डर हुँदा साट्न कठिनाइ हुने र अतिरिक्त शुल्क तिर्नुपर्ने समस्याबारे ध्यानाकर्षण गराउनुभयाे। उहाँले यस विषयमा सम्बन्धित निकायबाट अनुगमन गर्न माग गर्नुभयाे ।

सांसद अमनलाल मोदीले हुलाकी सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणले दुःख पाएको र यस विषयमा संसद्मा आवाज उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयाे ।

त्यस्तै, सांसद छिरिङडम्डुल लामाले हुम्लामा हिमताल फुटेर लेदोसहितको पहिरोले लिमी तिल गाउँ जोखिममा परेको र जोखिममा रहेका बस्तीमा उद्धारका लागि कुनै निकायबाट पहल नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयाे ।

आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ। साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम छ।