तनहुँमा बस र टिपर ठोक्किँदा ७ जना घाइते
तनहुँ, ६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४, गोरेचौतारा नजिक आज बिहान बस र टिपर एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, रुकुम–पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–००१ अ–यो ००२७ नम्बरको टिपर ठोक्किएका हुन्।
दुर्घटनामा बसमा सवार ६ जना यात्रु र टिपरका चालक गरी सात जना घाइते भएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। अन्य छ जना घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।