सुर्खेत विमानस्थलको धावनमार्गमुनिबाट पानी रसाएपछि उडान अवरुद्ध
सुर्खेत, ८ जेठ । सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट एक्कासी पानी निस्किएपछि मंगलबारदेखि सम्पूर्ण उडानहरू ठप्प भएका छन्।
विमानस्थल प्रमुख हिराजन काफ्लेका अनुसार, धावनमार्गमा देखिएको समस्या समाधान गरी शनिबारसम्म उडान पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ, यद्यपि यसका लागि विस्तृत भौगर्भिक अध्ययन आवश्यक देखिएको छ।
मंगलबार धावनमार्गको उत्तरतर्फको भागमा सुरुमा खाल्डो देखिएको र त्यसलाई पुर्ने क्रममा नजिकैबाट जमिनमुनिबाट पानी रसाउन थालेको काफ्लेले जानकारी दिए। “पानी निस्किएसँगै विमानस्थल बन्द गरिएको छ। शनिबारसम्म सबै काम सक्नेगरी मर्मत भइरहेको छ,” काफ्लेले बिहीबार भने, “त्यसपछि मात्रै हवाई सेवा पुनः सञ्चालन हुन्छ।”
उनले तत्कालका लागि पानी देखिएको स्थान पुर्ने काम भए पनि यसको वास्तविक कारण पत्ता लगाउन भौगर्भिक अध्ययन गर्नुपर्ने अवस्था रहेको बताए। “के कारणले पानी आयो, त्यो त भौगर्भिक अध्ययनले नै देखाउला,” उनले भने, “भासिएको क्षेत्रमा माथितिर डाँडाकाँडा र वरपर खोला पनि छन्। सतहमुनि पानी रहेछ, खोतल्दा त्यो देखियो।”
विमानस्थल बन्द हुँदा यात्रुहरू हवाई यात्राका लागि नेपालगन्ज जान बाध्य भएका छन्।
हाल पानी देखिएको क्षेत्र नै धावनमार्ग विस्तारका लागि प्रस्तावित क्षेत्र हो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा धावनमार्ग विस्तारको प्रयास थालिए पनि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीको असहयोगका कारण रोकिएको थियो।