सान्भी इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुल्यो
काठमाडौं, ९ जेठ । जलविद्युत् क्षेत्रमा सक्रिय सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आज (शुक्रबार) देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेको छ।
सर्वसाधारण लगानीकर्ताले आजदेखि जेठ १३ गतेसम्म यस आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन प्रणाली ‘मेरोसेयर’ मार्फत दिन सकिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
कम्पनीले सर्वसाधारण समूहका लागि कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये सामूहिक लगानी कोष, आयोजना प्रभावित स्थानीय, कम्पनीका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाहरूलाई छुट्याएपछि बाँकी रहेको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।