प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलले गरे अवरोध
काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्।
बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब २ घण्टा ढिलो गरी दिउँसो १ बजे प्रारम्भ भएको थियो।
बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको थियो। उक्त छलफलले गृहमन्त्रीको राजीनामासम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै गृहमन्त्रीले सदनमा जवाफ दिने निर्णय गरेको बताइएको छ।
तर, बैठक सुरु भएसँगै सभामुख देवराज घिमिरेले “आजको बैठकको कारबाही प्रारम्भ हुन्छ” भनी घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर अवरोध सुरु गरेका हुन्।
यसअघि मंगलबार पनि प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध पारेका थिए।