स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब बजेट, बाँकी दाबी भुक्तानी यसै आर्थिक वर्षभित्र फर्स्यौट गरिने
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिँदै रु. १० अर्ब बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै हालसम्म बाँकी रहेका बीमा दाबी भुक्तानीहरू तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षभित्र फर्स्यौट गरिने महत्वपूर्ण घोषणा गर्नुभएको छ ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छु । हालसम्म बाँकी दाबी भुक्तानीको रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्ष भित्र फरफारक गर्ने व्यवस्था मिलाएको छु ।” यसले लामो समयदेखि रोकिएका भुक्तानीहरूले सेवाप्रदायक संस्था र बीमितहरूमा परेको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
यसका साथै, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । यससम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनेछ र कार्यक्रमको दायरा विस्तार गरिनेछ ।