९७ वर्षमा पाए अपाङ्गता भएका भट्टले नागरिकता

दार्चुला, २० जेठ । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्याँस –६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भन्नुभयो, “घरमै नागरिकता पाउँदा खुसी लागेको छ । ”

जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरुप उनीहरुलाई पायक पर्ने स्थानमै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिनुभयो ।

टोलीले व्याँस –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा एक सय ३८ ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति रहेका थिए । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत एक सय ९७ ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन् ।

व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।