विपक्षी दलद्वारा आज पनि संसद अवरोधको तयारी
काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दलहरूले आजपनि संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कथित संलग्नताको विषयलाई लिएर निष्पक्ष छानबिनको माग गर्दै विपक्षीहरूले उनको राजीनामालाई प्रमुख सर्त बनाएका छन्।
आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। उल्लेखनीय छ कि जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत भएपश्चात् आज पहिलो पटक संसद बैठक बस्न लागेको हो, जसमा बजेटमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ।
विपक्षी दलहरूको मुख्य माग गृहमन्त्री लेखकमाथि छानबिन हुनुपर्ने रहेको छ। गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा तानिएका र सोही प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरूको समेत नाम जोडिएपछि विपक्षीहरूले मन्त्री लेखकको भूमिकामाथि प्रश्न उठाएका हुन्। उनीहरूले निष्पक्ष छानबिनका लागि मन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्।