सप्तकोशीमा अभ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता, खोजी जारी
सुनसरी, २२ जेठ । सुनसरीस्थित सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का दुई जना गोताखोर बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलको मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीको सिमानामा पर्ने उक्त नदीमा अभ्यासका क्रममा उनीहरू बेपत्ता भएको पुष्टि गरेको छ ।
बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र, बरमजियामा कार्यरत प्रहरी जवानद्वय सुरज साउद र हरदेव राजवंशी रहेका छन् । उनीहरू विपद्का समयमा नदीमा फसेकाहरूको उद्धार गर्ने सीप सिक्ने अभ्यासमा थिए ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खतिवडाले बेपत्ता गोताखोरहरूको खोजी कार्य तीव्र पारिएको र आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।