अन्तर्राष्ट्रिय मैत्री फुटबलमा नेपाल र हङकङ बराबर

काठमाडौँ, २२ जेठ । अन्तर्राष्ट्रिय मैत्री फुटबल खेलमा नेपालले बिहिबार घरेलु टिम हङकङलाई गोलरहित बराबरीमा रोकेको छ । फिफा वरीयतामा नेपालभन्दा हङकङ २२ स्थान माथि रहेको छ ।

हङकङको राष्ट्रिय रङगशालामा भएको खेलको इन्जुरी समयमा नेपाल दस खेलाडीमा सीमित भएका थियो । मणि लामाले दोहोरो पहेँलो कार्डसहित मैदान छोडे । यसैगरी हङकङविरुद्ध खेल्दै नेपालका श्रीजनराज गौतमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका छन् । प्रशिक्षक म्याट रसले खेलको ८२ औँ मिनेटमा श्रीजनलाई अञ्जन विष्टको स्थानमा मैदानमा पठाए ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलको तयारीअनुरुप नेपाल र हङकङले एकअर्कासँग मैत्री खेल खेलेको हो । पाँच दिनपछि एसिया कप छनोटअन्तर्गत नेपालले लाओस र हङकङले भारतविरुद्ध खेल्दैछ ।

नेपाल र हङकङ बिच यो मात्र दोस्रो अन्तर्राष्ट्रिय फुटबल खेल हो । सन् १९८८ मा नेपाल र हङकङबिच भएको खेल पनि बराबरीमा सकिएको थियो ।