सन्दीप लामिछानेको सनसनीपूर्ण बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध सन्दीपको घातक बलिङमा विराटनगर किङ्सले विपक्षी टोलीलाई १३२ रनमै समेटेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको हो। विराटनगरका कप्तानसमेत रहेका सन्दीपले आफ्नो चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले पोखराको ब्याटिङ लाइनअपलाई धराशायी बनाउँदै ह्याट्रिकसमेत पूरा गरे।

पोखराका लागि युवराज सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा उक्त रन बनाएका थिए। तर, अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा पोखरा सामान्य योगफलमा सीमित भयो।

यसअघि एनपीएलका पाँच खेलमा सन्दीपले एक विकेट मात्रै लिएका थिए। पछिल्ला खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका उनले पोखराविरुद्ध उत्कृष्ट पुनरागमन गरेका छन्।

विराटनगरले अघिल्लो खेलमा काठमाडौं गुर्खाजसँग ९ विकेटको हार व्यहोरेको थियो। उक्त खेलमा विराटनगर ८३ रनमै समेटिएको थियो। त्यसैले पोखराविरुद्ध सन्दीपको प्रदर्शन टोलीका लागि महत्वपूर्ण बनेको छ।

यसअघि कर्णाली याक्सलाई ६३ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको पोखरा भने विराटनगरविरुद्ध सन्दीपको स्पिन आक्रमणसामु टिक्न सकेन।

पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याउन विराटनगर अब ब्याटिङमा उत्रिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *