गृहमन्त्री लेखकद्वारा कोशीमा अभ्यास गर्दा भएकाे दुर्घटनामा दुःख व्यक्त, जोखिममा खटिनेको जीवन बिमा गर्ने प्रतिबद्धता

काठमाडौँ, २३ जेठ । सप्तरीको सप्तकोशी नदीमा मनसुन पूर्वतयारीको अभ्यास गर्दा बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एकको शव फेला परेको छ। अर्का जवानको खोजी कार्य जारी रहँदा गृहमन्त्री रमेश लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारकर्मीको जीवन बिमा सुनिश्चित गर्ने बताउनुभएको छ।

बिहीबार दिउँसो हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा विपद् व्यवस्थापनको अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान (गोताखोर) हरदेव राजवंशी र सुरज साउँद बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बलका अनुसार, बेपत्तामध्ये राजवंशीको शव शुक्रबार बिहान घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको हो।

घटनापछि गृहमन्त्री लेखकले शुक्रबार बिहान सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोक पुगेर घटनाबारे विस्तृत जानकारी लिनुभयो। उहाँले बेपत्ता जवान साउँदको खोजीमा कुनै कसर बाँकी नराख्न र प्रदेश सरकारसँग समेत समन्वय गर्न निर्देशन दिनुभयो।

उहाँले यस्ता दुःखद घटनाबाट पाठ सिक्दै आगामी दिनमा थप सचेत रहन आग्रह गर्नुभयो। “शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्नुपर्छ,” गृहमन्त्रीले भन्नुभयो, “खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्नेछ र आवश्यक बजेटको व्यवस्था गर्नेछ।”

गृहमन्त्री लेखकसँगै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र गृह मन्त्रालयका उच्च अधिकारीहरू पनि सशस्त्र प्रहरी प्रधान कार्यालय पुग्नुभएको थियो। मृतक राजवंशी इलाम र बेपत्ता साउद पर्सा दरबन्दीका हुन्।