राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी
झापा, २५ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्ग मानिने सञ्चार क्षेत्रको नेतृत्व र नीति–निर्माण तहमा महिलाको उपस्थिति अत्यन्तै न्यून र निराशाजनक रहेको बताउनुभएको छ ।
उहाँले सञ्चारमाध्यमको सम्पादकीय र निर्णयकर्ता भूमिकामा महिलाको पहुँच सीमित हुनु चिन्ताको विषय भएको औँल्याउनुभयो ।
शनिबार झापाको विर्तामोडमा नारी सञ्चार गृहद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाका मुद्दालाई प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण हुन्छ । उनीहरूले भोगेका र देखेका विषयवस्तु पस्कँदा त्यसमा संवेदनशीलता र यथार्थता झल्किन्छ ।”
चुनौतीका बाबजुद पनि महिला पत्रकारहरूले देखाएको व्यावसायिक दृढता र सामाजिक परिवर्तनप्रतिको प्रतिबद्धताको उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नारी सञ्चार गृह झापाको रु. ५० लाखको अक्षयकोष स्थापनामा सहयोग गर्ने दाताहरूलाई सम्मान गर्नुका साथै संस्थाद्वारा प्रकाशित ‘सञ्चारमा नारी’ नामक पुस्तकको विमोचनसमेत गर्नुभएको थियो । संस्थाकी अध्यक्ष रेजिना गौतमका अनुसार, उक्त अक्षयकोष पत्रकार महिलाको क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि प्रयोग गरिनेछ ।