पोखरामा हथौडा प्रहार गरी युवकको बीभत्स हत्या, पहिचान नखुल्दा अनुसन्धान रहस्यमय

कास्की, २६ जेठ । पोखरामा आज बिहान एक युवकको बीभत्स हत्या भएको छ। पोखरा महानगरपालिका-१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकको बीचमा रगतले लतपतिएको अवस्थामा शव भेटिएपछि घटना सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, प्रारम्भिक अनुसन्धानले युवकको हत्या भएको देखाएको छ। घटनास्थलमा शवसँगै एउटा हथौडा भेटिएको र मृतकको शरीर तथा अनुहारमा गहिरो चोटपटक देखिएकाले हथौडा प्रहार गरेरै हत्या गरिएको प्रहरीको ठहर छ। “बीच सडकमा उत्तानो परेको शव र घटनास्थलमा भेटिएको हथौडाले हत्या नै भएको पुष्टि गर्छ,” डीएसपी बस्नेतले भने।
घटनालाई थप रहस्यमय बनाउने पक्ष मृतकको पहिचान खुल्न नसक्नु हो। प्रहरीका अनुसार, मृतकको साथबाट पहिचान खुल्ने कुनै पनि कागजपत्र भेटिएको छैन। स्थानीयले समेत उनलाई नचिनेको बताएका छन्, जसले गर्दा अनुसन्धानमा कठिनाइ उत्पन्न भएको छ।
प्रहरीले बिहान करिब ५ बजे घटनाबारे जानकारी पाएको थियो। स्थानीयका अनुसार राति १-२ बजेसम्म त्यस क्षेत्रमा केही नदेखिएकाले हत्या बिहान ३ देखि ४ बजेको बीचमा भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अगाडि बढाएको छ।