नेपाल प्रहरीकाे डिएसपी भन्दै ठगी गरेको अभियोगमा दुईजना पक्राउ
काठमाडौँ, २८ जेठ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै रु छ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनेर रु छ लाख ठगी गरेको निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकामध्ये ज्ञानबहादुर विसं २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र विसं २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।