संसदीय गतिरोध अन्त्यका लागि सभामुखको पहल, प्रमुख सचेतकहरूसँग छलफल
काठमाडौं, १ असार । लामो समयदेखि जारी संसदको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलमा बोलाउनुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बिहान ९ बजेका लागि बोलाइएको बैठकमा संसदको आगामी कार्यतालिका (क्यालेन्डर) निर्माण र गतिरोध अन्त्यका विषयमा केन्द्रित रहेर छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
गत जेठ १३ गतेदेखि विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन्, जसका कारण सरकारले प्रस्तुत गरेको बजेटमाथिको महत्त्वपूर्ण छलफल समेत अघि बढ्न सकेको छैन ।
‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राखेका छन् ।
यद्यपि, यसअघि विरोधमा रहेको प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने शुक्रबार सरकारसँग दुई बुँदे सहमति गरेपछि आफ्नो विरोध फिर्ता लिइसकेको छ । आजको छलफलले संसदको अवरोध हटाएर बजेटमाथिको छलफललाई अघि बढाउन मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।