बूढानीलकण्ठमा भारतीय नागरिकसहित दुई जना मृत फेला, हत्यापछि आत्महत्याको आशंका
काठमाडौं, १ असार । राजधानीको बूढानीलकण्ठमा एक भारतीय नागरिक र एक नेपाली महिला रहस्यमय अवस्थामा मृत फेला परेका छन्।
बूढानीलकण्ठ नगरपालिका-४, पासिकोटस्थित एक घरको कोठामा शुक्रबार राति करिब पौने १० बजे दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जनाएकाे छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि हत्यापछि आत्महत्या भएको हुनसक्ने आशंका गरेको छ।
मृतकहरूमा भारतको पञ्जाब, चन्डिगढका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका-६ की २८ वर्षीया अन्जना तामाङ रहेका छन्। तामाङ सोही घरमा कामदारको रूपमा बस्दै आएकी थिइन् भने गिलले उक्त कोठा भाडामा लिएका थिए।
प्रहरीका अनुसार कोठा भित्रबाट बन्द अवस्थामा थियो। खबर पाएलगत्तै प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले ढोका फोडेर भित्र प्रवेश गरेको थियो। भित्र पस्दा तामाङको शव सोफामा र गिलको शव भुइँमा लडिरहेको अवस्थामा भेटिएको थियो। अन्जनाको टाउकामा चोट रहेको एसपी बोहराले बताउनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।