राज्यविरुद्धको कसुर मुद्दामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा हाजिर
काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
मंगलबार बिहान अदालतमा हाजिर भएका मिश्रको बयान र थुनछेक बहस न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन र झडपको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालयले मिश्रसहित ६१ जनाविरुद्ध जेठ ११ गते मुद्दा दायर गरेको थियो। उनीहरूमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको अभियोग लगाइएको छ।
सोही घटनामा पक्राउ परेका मिश्रलाई सर्वोच्च अदालतले जेठ २ गते हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो। त्यसपछि उनी अधिवक्ता श्यामबहादुर शाही र बसन्त ब्लोनको जमानीमा छुटेका थिए।
तर, मुद्दा दर्ता गर्ने समयमा प्रहरीले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि प्रहरीले उनका जमानी बसेका दुवै अधिवक्तालाई २५/२५ हजार जरिवाना गरेको थियो। उक्त जरिवानाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले पछि अन्तरिम आदेश दिइसकेको छ।
यसअघि सोही मुद्दामा राप्रपाका महामन्त्री तथा सांसद धवलशम्शेर राणा सोमबार अदालतमा हाजिर भएका थिए। अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी धरौटी बुझाएर छुटिसकेका छन्।