सेयर बजारमा गिरावट, नेप्से २६०० विन्दुभन्दा तल
काठमाडौँ, १० असार । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । लगातार चौथो कारोबार दिन घटेको नेप्से परिसूचक २६०० को मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको हो ।
आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा बन्द भएको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्समा पनि गिरावट आएको छ । परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेर रू नौ अर्ब १४ करोडमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले घटेको छ भने जलविद्युत उपसमूहमा साढे दुई प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ ।
बजार ओरालो लागे पनि जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पियोर इनर्जीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा दोर्दी खोला जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी र राधी विद्युत कम्पनी क्रमशः अग्रस्थानमा रहे ।