धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला: घटना शंकास्पद

धनगढी, ९ असार । धनगढीमा एक युवतीको शव रहस्यमय अवस्थामा फेला परेको छ। युवती बस्दै आएको कोठा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव भेटिएपछि घटना शंकास्पद बनेको हो।

प्रहरीका अनुसार सोमबार बिहान धनगढी उपमहानगरपालिका-२, बैयाबेहडीस्थित एक कोठामा ३० वर्षीया रेणु चौधरी मृत भेटिएकी हुन्।

मृतक चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११, अमरबस्तीकी स्थायी बासिन्दा हुन् । उनी धनगढीमा कोठा भाडामा बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले घटनाको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो। “घटनास्थललाई सिल गरेर सूक्ष्म अनुसन्धान अघि बढाइएको छ,” उहाँले भन्नुभयो।

कोठा बाहिरबाट बन्द गरिएको हुनाले घटना हत्याको आशंका बढाएको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ।